नयाँ फिल्म ‘फेसबुक’ भदौ १५ देखि प्रदर्शनमा आउने
काठमाण्डौ, असार २५, सुनिल कुमार थापाको निर्माण तथा सुरज सुब्बा ‘नाल्बो’ द्वारा निर्देशित नेपाली फिल्म ‘फेसबुक’ आगामी भदौ १५ गतेदेखि देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने कुरा निर्माण पक्षले जनाएको छ । यो फिल्म शुरूमा श्रावण १५ गतेका लागि रिलिज डेट तोकिएको थियो तर अहिले केही समय डेट सारेर भदौ १५ पुर्याइएको छ ।
फिल्म ‘फेसबुक’ केही समयअघि कोरियामा प्रिमियर गरिएको थियो । कोरियामा फिल्म ‘फेसबुक’ लाई त्यहाँका दर्शकहरूले निकै रूचाएको बताइएको छ । अहिले प्रदर्शनको मिती तय भैसकेकाले अब पब्लिसिटीलाई व्यापक बनाउने बताइएको छ ।
यस फिल्ममा सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक तथा नकारात्मक प्रभावलाइ कथाको बिषयबस्तु बनाइएको छ । यस फिल्मको छायाँकन नेपाल बाहेक सिंगापुरमा पनि गरिएको छ । फिल्म फेसबुकमा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, विल्सन विक्रम राई, सुमन गैरे, अनुराग कुवँर, माटिन खान आदि कलाकारहरूले अभिनय गरेका छन् । यस फिल्मको कथा निर्देशक सुब्बाकै रहेको छ भने छायाँकन संजय लामाको र द्वन्द्व रोशन श्रेष्ठको रहेको छ । यस फिल्ममा सुनिल बर्देवाले संगीत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकलाइ बिषयबस्तु बनाएर निर्माण गरिएको यो फिल्मले फेसबुकले मानिसलाइ तानेजस्तो कत्तिको दर्शकहरू तान्ने हो त्यो हेर्न भने केही समय कुर्नुपर्नेछ ।

